बुधबार, मंसिर २२, २०७८
Wednesday, December 8, 2021

‘भूमि फिर्ता लिन भारतसँग प्रधानमन्त्रीस्तरमै वार्ता गर्नुपर्छ’

काठमाडौं : भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको छ। नक्सामा निसान छाप परिवर्तन गरेसँगै व्यावहारिक रुपमा अतिक्रमित भूमि फिर्ता लिन प्रक्रिया अघि बढेको छ। प्रतिनिधिसभाले नयाँ नक्सा पारित गरिसकेको छ।

अब राष्ट्रियसभामा पुगेको नक्सा अब त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुन्छ। नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधानको दोस्रो संशोधन विधेयक संसदबाट सर्बसम्मतिले पारित गरिसकेपछि भारतले वार्ताको समझदारी उलंघन गरेको आरोप लगाएको छ।

भारतले गत नोभेम्बरमा नेपाली भूमि समेटेर नयाँ नक्सा निकालेपछि त्यसको जवाफमा नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा निकालेको हो। दुवै देशले नक्सा जारी गरिसके पनि अबको विकल्प भनेको वार्ता नै हो। तर, भारतको तर्फबाट नेपालले गरेको वार्तालाई पटक पटक बेवास्ता गरिरहेको छ। भारतको तुलनामा भौगोलिकरुपमा नेपाल सानो छ।

कूटनीतिक रुपमा नेपालले बलियो अडान लिन नसक्दा यसअघि भारतले सुनेको थिए। तर यस पटक नेपालमा राष्ट्रिय सहमति नै भएकाले भारतलाई दबाब बढेको छ। यसबीच भारतले वार्ताबाटै समाधान चाहेको छ। अहिलेको नेपाल-भारत तनावलाई कूटनीतिज्ञहरुले पनि नजिकबाट नियालिरहेका छन्। यस्तै एकजना कूटनीतिज्ञ तथा भारतका लागि पूर्वराजदूत दुर्गेशमान  सिंहसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी:

नेपालले सबै लिम्पियाधुरा, कालापानी लिपुलेकलाई समावेश गरेर राजनीतिक नक्सा जारी गरिसकेको छ। अब के होला?

दुवै देशले आ-आफ्नो ढंगले नक्सा जारी त गरिसके अबको विकल्प भनेको नै वार्ता हो। तर, भारतको तर्फबाट वार्तालाई बेवास्ता गरेको जस्तो देखिन्छ। भारतको तुलनामा नेपाल सानो छ। भारतको नेपालप्रति कस्तो रुचि छ त्यसमा निर्भर पर्छ। नेपालले के भन्‍न खोजेको हो स्पष्ट हुनुपर्छ, त्यसको विकल्पहरु तयार गरेर वार्तामा बस्नुपर्छ। भारतको क्रियाकलाप हेर्दा वार्तामा बस्ला जस्तो छैन। यसको लागि दुवै पक्ष संवेदनशील भएर अगाडि आउनुपर्छ।

  नेपालसँगको सीमा विवाद समाधानको लागि भारत वार्ता गर्न तयार भएन भने के होला?

भारत वार्तामा नबस्‍ने भन्‍ने कुरा हुन्‍न, जसरी पनि बस्नुपर्छ। नेपाल र भारतका जनता-जनताबीचमा सम्बन्ध राम्रो छ। जनताका लागि भएपनि वार्तामा बस्नुपर्छ। भारतको नेपालमा अहिले बल्ल १८-२० वर्षपछि सम्बन्ध राम्रो हुदै आएको थियो। त्यसलाई बिचार गरेर पनि भारत वार्तामा बस्‍नुपर्छ। नेपालले पनि त्यसको सदुपयोग गर्नुपर्छ। भारत वार्तामा बस्‍न किन सकिरहेको छैन त्यो कुरा पत्ता लगाउनुपर्छ।

नेपाल भारतको सुरक्षा र आर्थिक दृष्टिकोणले पनि महत्त्व राख्छ। नेपालको तर्फबाट ‍भारतको लागि के कुराको सम्बोधन गर्न सकिन्छ त्यसले पनि महत्व राख्छ। नेपालले भारतसँग वार्तामा बस्दा के गर्ने हो त्यसको पनि खासै तयारी गरेको देख्दिन। तयारी एकदमै जरुरी छ। नेपालले थप गृहकार्य गर्न जरुरी छ। यसमा दुवैलाई कसरी फाइदा हुन्छ हेरेर अगाडि बढनुपर्छ।

नेपालले वार्ताका लागि कूटनीतिक पहल गर्दा कसरी अगाडि जानु पर्ला?

उच्चस्तरीय वार्ता टोली गठन गर्नुपर्छ। प्रधानमन्त्रीस्तरबाट अब वार्ताको पहल हुनु जरुरी छ। सामान्य ढंगबाट वार्तामा बसेर केही फाइदा छैन। अर्को भनेको दुवै देशका प्राज्ञिक तथा बौद्बिक व्यक्तिहरुलाई पनि समावेश गरेर वार्ता गर्न सकिन्छ। यसको लागि एकपक्ष मात्र गम्भीर भएर हुँदैन। दुवैपक्ष गम्भीर हुनुपर्छ। जसले गर्दा दुवैको अपनत्व महसुस गराउन सक्नुपर्छ।

चीनसँग सीमा विवादका लागि तुरुन्त वार्तामा बस्‍न सक्ने भारतले नेपालसँग किन बस्‍न ध्यान दिएन ?

नेपालको परराष्ट्र नीति एकदमै कमजोर छ। किन यस्तो भएको होला यो एउटा अचम्मको विषय भएको छ। नेपालको आफ्नो राजनीतिक व्यवस्था कमजोर भएर हो कि के यो अलिक गम्भीर विषय छ। परराष्ट्र नीतिको मामिलामा नेपाल अब एकदम कठोर भएर बढ्नुपर्छ। सधैंभरि नरम भएर केही हुनेवाला छैन। भारतसँगको नीति पनि परिवर्तन गर्नुपर्ने बेला आएको छ।

कमजोर हुनुको कारण चाहिं के होला त ?

कमजोर हुनुको कारण नेपालभित्रको राजनीतिक द्बन्द्ब हो। अर्को कुरा भनेको नेपालले भारतको अगाडि सदा आफूलाई कमजोर ठानेको छ। अब समय आएको छ, अब बलवान छु भनेर देखाउनुपर्छ। हरेक देशमा सरकार परिवर्तन हुँदा परराष्ट्र नीतिलाई महत्व दिन्छन्। नेपालमा के छ भने परराष्ट्र नीतिलाई लिएर इतिहासमा जे भएको थियो त्यही दोहोर्‍याउने गरिएको छ। यो भनेको नेपालको परराष्ट्र नीतिका लागि अन्य विकल्प छैन भन्‍न खोजिएको हो। साथै हामी कमजोर रहेछौं भनेर प्रमाणित गर्न पनि खोजिरहेको छ। परराष्ट्र मामिलामा अब फरक ढंगबाट जानु पर्छ।

नेपालले आफ्नो भूमि भनेर दाबीसहित नक्सा सार्वजनिक गरिसकेको छ। उक्त जमिन लिनका लागि के गर्नुपर्छ त्यसो भए?

भारतले वार्ताको लागि समय निकालेन वा आव्हान गरेन भने पनि नेपालले अब वार्ताका लागि आफैं अग्रसर हुनुपर्छ। नेपालले वार्ताको लागि ठोस कदम चाल्नुपर्छ। त्यो नै नेपालको लागि लाभदायक छ। भारत त आफूलाई ठूलो ठानेर बसेको छ। भारत त वार्तामा बस्‍न नचाहन पनि सक्छ। कतिपय अवस्थामा आफूलाई फाइदा हुन्छ भने किन नेपाल आफैं अगाडि नबढने ? उसलाई बुझाउन सक्नुपर्छ। यस्तो समयमा यथार्थ कुरा के रहेछ भनेर बुझाउन पनि सजिलो हुने भएकोले त्यसको लागि नेपाल अग्रसर हुनुपर्छ जस्तो लाग्छ।

 भारत नेपालसँग असन्तुष्ट हुनको कारण के हो जस्तो लाग्छ तपाइलाई?

नेपाल सानो मुलुक हो भनेर भारतीय नेतृत्वको मानसिकतामा जरा गाडेर बसेको छ। नेपालको संसदमा भारतीय प्रधानमन्त्रीले भारत ठूलो हो भनेर पनि सम्बोधन गरेको अवस्था छ। भावानात्मक रुपमा नेपालले आफैं पनि सानो हो भन्‍ने जस्तो गरेकोले नेपालप्रति भारतले महत्व नदिएको जस्तो लाग्छ। भारतले नेपाललाई कहिलेपनि प्राथमिकतामा राख्दैन। किनभने नेपाल भारतप्रति पूर्णरुपमा निर्भर छ भन्ने उनीहरुको बुझाई छ। नेपालले आफ्नो अस्तित्व देखाउन सक्नुपर्छ।

नेपाल र भारतको संयुक्त प्रबुद्ब व्यक्तिहरुको समूह इपिजी प्रतिवेदन भारतले बुझ्‍नसमेत नमान्‍नुको कारण के हो?

भारतले इपिजीको प्रतिवेदनमा भएको सबै कुरा लागू हुनुपर्छ भनेर मान्यता राख्दैन। मुख्य कुरा भनेको भारतको रुचिको विषय त्यसमा परेको छ कि छैन त्यसले पनि निर्धारण गरेको होला । इपिजी प्रतिवेदन लागू गर्दैन भनेर नेपाल चुपचाप बस्‍नु भएन घचघच्याइ रहनुपर्छ। भारतका लागि खासै चाख नभएका विषय समेटिएको पनि हुन सक्छ। त्यसैले पनि इपिजीको विषयमा आलटाल गरेको हुन सक्छ।

लिपुलेकको मार्ग भएर व्यापारिक मार्ग चीन र भारतले सहमति गरेका थिए। यस विषयमा चीनलाई नेपालले सोध्नु पर्छ या पर्दैन?

यहीँ नेर थाहा हुन्छ कि नेपालको परराष्ट्र नीति कस्तो छ भनेर एउटासँग बोल्दा अर्कोसँग नबोल्ने भनेर बस्‍नु हुदैन। सबैको लागि परराष्ट्र नीति समान हुनुपर्छ। कतिपय अवस्थामा बोलिहाल्नु पनि राम्रो हुँदैन। किनभने एउटासँग वार्ता गरेर समस्याको समाधान गर्ने भनेको बेलामा अर्कोसँग झन्झट झिक्नु पनि राम्रो हुँदैन। पहिले नक्सामा जारी गरेको भू-भागलाई ग्रहण गर्नतिर लाग्नुपर्छ। त्यसपश्‍चात प्रश्‍न गर्नुपर्छ किन मेरो सहमति विपरीत मेरो भू-भागमा व्यापारिक मार्ग खोल्न अगाडि बढ्यौ भनेर चीनलाई प्रश्‍न गर्न अहिले हतार गर्नुहुँदैन। दुवै देशको सुरक्षाका लागि यो समय धेरै महत्वपूर्ण हुन्छ।

भारतकै कारण नेपालमा भारतविरोधी भावना बढ्दै छ। यो घटनाले भारतलाई झनै नोक्सान हुँदैन र?

अब नेपालले भारतबाट हेपिने र भारतले हेप्ने काम बन्द हुनु पर्छ।  छिमेकी मुलुकको सम्बन्धलाई कहिले पनि ओझेलमा पार्नुहुन्‍न जसले गर्दा दीर्घकालीन समयमा असर पर्छ। यसले न नेपाललाई फाइदा गर्छ न भारतलाई। त्यो चाहिं भारतले सोच्ने कुरा हो।  भारतले नेपाललाई जहिले पनि बिनामहत्वको दृष्टिकोणले हेर्ने गर्छ। सबैभन्दा महत्व नदिएको छिमेकी मुलुकमध्येमा नेपाल पर्छ।

नेपालका राष्ट्रप्रमुख सरकार प्रमुखहरुले आफ्नो स्थानलाई मजबुत बनाउन नसक्दा नै यस्तो समस्या आएको हो। अब नेपालले सम्पूर्ण नेपालीको एउटै स्वर भएको छ भन्‍ने सन्देश भारतलाई पुर्‍याउन जरुरी छ। जहाँसम्म नेपालमा भारत बिरोधी भावना बढ्ने मात्रै होइन भारत मैं नेपालको समर्थनमा धेरै मानिस पनि देखिन थालेका छन् । यो भारतका लागि सुखद बिषय होइन।

भारतले बंगलादेशसँगको सीमा समाधान पनि गरिसकेको छ। खास के कारणले नेपालको चाहिँ अड्कियो? नेपाल सबै कुराले नजिक छ। सामाजिक धार्मिक परम्परा सबै मिल्छ र पनि किन यस्तो भारतले नेपालबाट के चाहिरहेको छ?

नेपाल र भारतको सम्बन्ध खुला सीमाको मात्र सम्बन्ध छैन। यसमा धार्मिक,सामाजिक तथा सांस्कृतिक सम्बन्ध जोडिएको छ। नेपालले सधैभरी भावनात्मक सम्बन्ध गाँसेर मात्र हुन्‍न। फरक पहिचान पनि बनाउन तिर जानुपर्छ नि तब न छिमेकीले पत्याउँछन्। बंगलादेशले अवसर पायो भने भारतलाई चुनौती दिन सक्ने भयो। तर  नेपालले अहिलेसम्म भारतीय नेताहरुका अगाडि केही बोल्न सकेको छैन, त्यसैको परिणाम हो। बंगलादेशको आफ्नो पहिचान छ।

भारतसँग नेपालले कहिले बनाउला त्यस्तो पहिचान? त्यस्तो हैसियत बनाउन नसक्दा भारतको प्राथमिकतामा नेपाल पर्न नसक्दा कूटनीतिक वार्तालाई भारतले बेवास्ता गरेको छ। नेपालले सधैंभरि माग्‍ने गरेको र भारतले दिने गरेको कारणले पनि यस्तो  गरेको हुन सक्छ। अब नेपाल परिवर्तन हुने समय आएको छ। नेपालमा भएको कुरालाई प्रयोग गरेर मजबुत हुने समय आएको छ। यो अवसर पनि हो भनेर बुझ्‍ने समय आएको छ। जोसले भन्दा पनि होसले काम गर्नुपर्ने र देखाउने बेला आएको छ।

नेपालको परराष्ट्र सम्बन्धको सबैभन्दा उत्कृष्ट समय र कमजोर समय कुन होला ?

मेरो अनुभवमा भन्‍ने हो भने त राजा महेन्द्रको पालामा नै नेपालको परराष्ट्र नीति सबैभन्दा राम्रो थियो। नेपालको हरेक विकास निर्माण प्रक्रिया अगाडि बढेको समय भनेको नै राजा महेन्द्रको पालामा थियो।  बेलायत तथा अन्य कैयौं मित्रराष्ट्रका प्रमुखहरु आउने र समानताको भावना थियो। कुराको र इज्जतको स्तर बेग्लै थियो।  क्रमश: हामी सधैं मागि रहने उनीहरु दिइरहने।उनीहरु सिकाइ रहने हामी सिकिरहने जस्ता भयौं।

हामीसँग केही नैं नभए जस्तो भयौं। अझ प्रजातन्त्र आएपछि नेपालको परराष्ट्र सम्बन्ध कमजोर भयो। संस्थागत स्मरण पनि रहेन। व्यक्तिको अनुभव ज्ञान र इमानको कदर पनि हुन छोड्यो। अझ माओवादी द्वन्द्व र नेपालको राजनीतिक व्यवस्था अस्थिर हुनु नै हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Season