‘दुई-चार जना काठमाडौं बसेर बनाएको संगठन कहिल्यै राष्ट्रिय पार्टी बन्न सक्दैन’

0
80

साझा पार्टीसँग स्थापनाकालदेखि नै जोडिएका डा. सूर्यराज आचार्यले यसै हप्ता सो पार्टी छाड्ने घोषणा गरे। पूर्वाधारविज्ञ समेत रहेका आचार्य पार्टीमा प्रवक्ताको भुमिकासहित नेतृत्व तहका नेता थिए।

साझाका सबै संरचना भङ्ग गरी पार्टीलाई पुनः तल्लो तहबाटै पुर्नगठन गरौं भन्ने उनको प्रस्ताव अस्वीकृत भएपछि पार्टीबाट अलग्गिने निर्णय लिएको आचार्यले बताएका छन।

आचार्यसँग उनले साझा पार्टी छाड्नुको कारण र अबका योजनाबारे नेपालखबरले गरेको कुराकानीः

आफैले सुरु गरेको पार्टीबाट अलग्गिने निर्णयमा केले पुर्‍यायो?
नेपालमा बैकल्पिक राजनीतिको संवाहक हुनसक्ने साझा पार्टीको निर्माणमा हामी तीन वर्षदेखि जुटेका थियौं। पार्टीको स्थापना भएलगत्तै स्थानीय चुनावमा लड्यौं। त्यसमा सम्मानजनक मत ल्यायौं। त्यसपछि आम चुनावमा पनि लड्यौं त्यसमा पनि उत्साहजनक नै भयो। यद्यपी उदेश्यअनुरुप हामी राष्ट्रिय पार्टी बन्न सकेनौं।

आम समाजले हामीलाई आशा र भरोसाको हिसाबले बैकल्पिक राजनीतिका रुपमा हेरेको अवस्था छ। तर हाम्रो प्रतिस्पर्धी पार्टी भने लामो राजनीतिक संघर्ष, व्यवस्था बदल्ने क्रान्ति आन्दोलनबाट उठेका, पटकपटक सत्तामा गएका तथा समर्थनका हिसाबले देशभरी राम्रो पकड भएका छन।

उनीहरुका बीचबाट हामीले पार्टी निर्माण अभियान थाल्यौं। तर, मलाई के लाग्यो भने हामीले बैकल्पिक राजनीति त भन्यौं तर बैकल्पिक राजनीति के हो भन्ने कुरामा हामी अलमलमा पर्‍यौं। बैकल्पिक राजनीति भनेको पुराना दलहरुको विसंगतिको बिरोध गर्ने तथा प्रतिक्रिया गर्नेमा मात्रै सीमित भयो। अहिलेका दलहरु असफल भएको देशको रुपान्तरण गर्न नसकेर हो भन्ने कुरामा बैकल्पिक राजनीति अलमलियो।

साझा पार्टीमा म नेतृत्व तहमै थिएँ। गएको १२–१५ महिनादेखि मलाई के लाग्यो भने अहिलेको संरचनामा हामीले जत्रो पार्टी बनाउन सक्यौं, यही संरचनाले देश रुपान्तरण गर्ने किसिमको वैकल्पिक पार्टी निर्माणको कार्यशैली, सोच अपर्याप्त छ।

त्यसैले मैले अब हाम्रो पार्टी ग्रासरुट (स्थानीय तह) सम्म लिएर जाऔं भन्ने प्रस्ताव गरेँ। केन्द्रीय समिति विघटन गरेर केहि समय केन्द्रीय समितिको अधिकार केन्द्रीय संयोजकलाई दिएर पार्टीका सबै समिति विघटन गरौं र देशव्यापी पार्टी निर्माणको अभियान थालौं भन्ने मेरो जोड थियो।

त्यसले स्थानीय तहबाट बैकल्पिक राजनीतिबारे जनताको भावना के हो?े भनेर सोच पनि दिने र हामीले हाम्रा दृष्टिकोण जनस्तरसम्म गएर छलफल गरेर बनाएका हौं भन्न सकिन्थ्यो।

तर अर्कापट्टी पार्टीमा अहिलेको संरचनालाई नै निरन्तरता दिउँ भन्ने मत रह्यो। पार्टीका नेतृत्व तहका साथीले यतिबेला अहिलेकै संरचना ठीक छ भनेपछि मेरो फरक दृष्टिकोणका कारण म अलग भएँ। साथीहरुलाई काम गर्न सजिलो हुन्छ भनेर हार्दिकताका साथ नै मैले पार्टीको साधारण सदस्य समेत नरहने गरि अलग्गिने निर्णय गरेको हुँ।

पार्टीका संरचनालाई भङ्ग गरी शून्यमा झारेर पुनः ग्रासरुट तहमै लैजाउँ भन्नु कत्तिको सान्दर्भिक र व्यवहारिक हो?
मेरो प्रस्ताव के थियो भने यो तीन वर्षमा साझा पार्टी त बनेको छ। तर, यही संरचनाले देश रुपान्तरण गर्ने प्रतिस्पर्धी पार्टी बनेको छैन र बन्दैन। हामी जति आवद्ध छौं, हाम्रो प्रयासले मात्रै पनि छोटै समयमा सत्तामा पुर्याउनसक्ने अथवा राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्नसक्ने पार्टी बन्न कठिन छ।

त्यसैले अब हामीले आत्मसमिक्षा गर्नुपर्यो। अहिलेसम्म जे जति व्यक्तिहरु थियौं, सबैको मेहनतले पार्टी यहाँसम्म पुर्‍यायौं। अब हामी स्थानीय तहसम्मै जाऔं। चारैतिरको ढोका खोलौं। विचार, एजेन्डा, नीति, संगठन, नेतृत्वको तहमा शून्यबाट पार्टी निर्माणको राष्ट्रिय अभियान सुरु गरौं भनेका हौं। आवश्यक पर्‍यो र क्षमतावान व्यक्ति आउनुभयो भने नेतृत्व तहमा, केन्द्रीय समिति पनि खाली छ भन्नलाई संरचना भङ्ग गरेर खाली गरौं भन्ने उदेश्य हो।

तपाईको प्रस्तावमा अरु किन ‘कन्भिन्स’ हुन सकेनन?
केही साथीहरुले तीनवर्षमा बनिसकेको पार्टीका समितिलाई विघटन गर्दा पार्टी नै विघटन हुने हो कि भन्ने जोखिम देख्नुभयो। केही साथीहरुलाई भएको पद पनि जाने हो कि भन्ने डर पनि लाग्यो। अर्को चाहीँ भइरहेकै संरचनालाई भङ्ग गरेर पार्टीलाई शून्यमै गएर पुर्नसंरचना गर्नुभन्दा पार्टीलाई सुधार पनि गर्ने, अरुलाई पनि मिलाउँदै पनि जाने हो कि भन्ने पर्‍यो।

फेरि शून्यबाट नै पार्टी निर्माण गर्न ग्रासरुटसम्म जाँदा साझा पार्टीमा मान्छेहरु ओइरिएरै आउलान भन्ने ग्यारेन्टी पनि त भएन, होइन र?
तपाईले यस्तो वातावरण निर्माण गर्नुपर्यो कि यो पार्टीमा साझा वा विवेकशीलका केही नेताले बोलाएर जाने होइन। यो त एउटा राष्ट्रको अभियान हो, हामी सबैको दायित्व हो भनेर खुला भएर आउने सन्देश पुर्‍याउनु पर्यो।

चार सालमा नेपाली कांग्रस बन्दाखेरि होस या कम्युनिष्ट पार्टी सुरु हुँदा उहाँहरुले मान्छे बोलाएर सुरु गर्‍या हैन नी। त्यो अभियानले दृष्टिकोणको आधारमा मान्छेलाई अपील गरेको हो। हो, यो अभियान पनि यसरी जानुपर्‍यो कि मान्छे आउलान, खोज्नुपर्छ भन्ने कुरा गलत छ। पार्टी निर्माण अभियानको सन्देश यस्तो जानुपर्यो कि हरेक अभिभावकले त्यहाँ आफ्नो सन्तानको भविष्य देखोस।

काठमाडौंमा दुईचार जना बसेर निर्वाचन आयोगमा दर्ता भएको पार्टी कहिले पनि राष्ट्रिय पार्टी हुनै सक्दैन। पार्टी निर्माण भनेको ग्रासरुट लेभलबाटै आउनुपर्छ। त्यो कुरामा हामी चुकेका छौं। त्यही गल्ती गरेको कुरालाई धैरे अगाडि नबढाईकन अब दुई कदम पछाडि जाऔं र दश कदम अगाडि बढौं भन्ने मेरो भनाईको मर्म हो।

हुनत राजनीतिका निष्कर्षहरु गणितीय सूत्र जस्ता हुँदैनन। पार्टी बलियो बनाउने मैले भनेको प्रस्ताव वा अरु साथीहरुको धारणा दुवै संभावनाको कुरा हो। यही संरचनामा थप्दै गयौं भने पनि यो अलि पार्टी त बन्ला तर हामीले दाबी गरेजस्तो नेपालको सामाजिक आर्थिक रुपान्तरण हाम्रै जीवनकालमै भन्ने तहको पार्टी बन्दैन भन्ने मेरो बिश्लेषण हो।

विवेकशील नेपाली दलसँग पुनः एकीकरण गर्नका लागि संवाद सुरु हुनलाग्दा तपाई बाहिरिनु भयो। पार्टी जुट्दा त थप बलियो हुनसकिन्थ्यो होला नी, हैन र?
केही वर्षदेखि जेजति साना–ठूला पार्टीहरु बैकल्पिक राजनीति गर्छु भनी क्रियाशील रहे उनीहरुले देश रुपान्तरण गर्ने दाबी चाँही गरिरहे। तर, यी पार्टीहरुले बृहत् राजनीतिक चरित्र चाँही बोक्न सकेनन। सामाजिक चरित्र बढि भयो। क्लब जस्तो भयो। सामाजिक अभियानमा मात्रै सीमित भयो। पार्टी बन्नका लागि आधारभुत राजनीतीक जग नै भएन। हामीले युवालाई, विभिन्न पृष्ठभूमिका व्यक्तिलाई अवसर दिन्छौं भनेर चाँही ल्यायौं तर यसरी गैरराजनीतिक चरित्रका व्यक्ति ल्याएर राजनीतिक पार्टी बन्दैन। निरपेक्ष भएर हेर्ने हो भने साझा र विवेकशीलमा आवद्ध व्यक्तिहरुमा राजनीतिक चरित्र थोरै अभियानकारी र सामाजिक चरित्र बढी भयो। अभियानले मात्रै बैकल्पिक राजनीतिको जग बलियो हुँदैन।

सामाजिक अभियानको चरित्र सरकारलाई उत्तरदायी बनाउन, दबाब दिनसम्म केही हदतक सफल देखिएका छन। तर, त्यसले साँच्चिकै राजनीतिक पार्टीको स्वरुप ग्रहण गर्ने, चुनाव जितेर सरकारमा जानसक्ने र सरकारमा गएर डेलिभरी पनि गर्नसक्ने, जनभावनालाई सम्बोधन गर्नसक्ने तहको राजनीतिक जग, चरित्र, स्वरुप हासिल गरि नसकेका हुन कि भन्ने मेरो आकँलन हो। त्यसैले संवाद समिति बनाएर अहिले भइरहेका पार्टीसँग एकता गर्दैमा ती आधारभूतरुपमै अपूरा कुराहरुको सम्बोधन हुँदैन।

बरु अहिले साझा र विवेकशीलले शुन्यमा लगेर अहिलेको पद्धतिसँग असन्तुष्टहरुलाई बैकल्पिक अभियानमा बोलाउन सकेको भए अरुसँगै म पनि त्यो अभियानमा जानसक्थें।

पार्टीबाट बाहिरिएपछि अब के गरेर बस्ने योजना बनाउनुभएको छ?
प्रत्यक्ष दलीय राजनीतिको बहसबाट बाहिर निस्केर म बैकल्पिक राजनीतिको बहस र विकासका काममा आफूलाई क्रियाशील राख्नेछु। म मुख्यतः तीन क्षेत्रमा सक्रिय रहनेछु।

पहिलो, तीनवर्षमा थोरै भएपनि हामीले बैकल्पिक राजनीतिको अभ्यास गर्‍यौं। तर, नेपालमा यसको बुझाई अपुरो छ। अहिलेसम्म बैकल्पिक राजनीति भन्दै आएका युवा र पेशाकर्मीले शंकाको लाभ उठाए। अब बैकल्पिक राजनीति गरेको दाबी गर्नेमा त्यो चरित्र छ कि छैन? इमान छ कि छैन? सत्तामा गएपछि त्यो परिणाम दिनसक्ने हो कि हैन? र, राजनीतिक चरित्र छ कि छैन भन्ने कुरामा आलोचनात्मक बहस हुन जरुरी छ। म मेरो अनुभवका आधारमा त्यो बहसमा हुनेछु।

दोस्रो, विकास योजना, पूर्वाधार योजना, विकासको राष्ट्रिय नीतिको बहसमा मेरो निरन्तरता छ र यसमा मेरो संग्लनता जारी रहनेछ।

तेस्रो, अहिले पनि म पुल्चोक क्याम्पसमा प्राध्यापन गर्छु। त्यसलाई निरन्तरता दिन्छु।

तपाईले भन्दै आउनुभएका विकासका केही अवधारणा र नेकपा सरकारले पनि उठाएका एजेण्डा ठ्याक्कै मिल्छन्। नेकपामा प्रवेश गर्ने सोच पो बनाउँनुभएको छ की?
अहिले सरकारले उठाएका क्रसबोर्डर रेल प्रणाली लगायत एजेन्डालाई मैले सही भनेको छु। तर, त्यसको कार्यान्वयन पक्षमा म यो सरकारको कटु आलोचक हुँ। आफैले उठाएको विकासका एजेन्डालाई न्याय गर्न नसक्ने तथा त्यसको कार्यान्वयन पक्षमा सबैभन्दा लापरवाही र सबैभन्दा अकर्मण्यता यो सरकारले देखाएको छ।

म नेकपा पार्टीमा जाने भनेकोे असंभव कुरो हो। अहिलेको ठूला दुई दलको संरचना र कार्यशैली यस्तो छ कि यताबाट सिद्धार्थ गौतम हाल्यो भने उताबाट चाल्र्स शोभराज भएर निस्कन्छ। म त्यति बेहोसियार छैन कि यस्ता पार्टीहरु जसले देशलाई बर्बाद बनाएका छन। सरकारमा गइसकेपछि विकास, समृद्धि योजनामा कुनैपनि उनीहरुको भिजन छैन। र पढेलेखेका मान्छेहरु सरकारमा जाने भनेको राज्य दोहन गर्न जाने भन्ने जुन बुझाई छ। ठूल्ठूला डिग्रीधारी पनि नेताको दौराको फरिया समातेर राजनीतिक नियुक्ति लिन जाने, पार्टी प्रवेश गर्ने विकृतिको म कटु आलोचक हुँ। जुन कुरामा आलोचना गरिरहेको छु, त्यो कुरा मेरो नैतिकताले पनि दिँदैन र त्यो हिसाबको म बेहोसियार पनि छैन।

त्यसो भए नयाँ बैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्ने सम्भावना छ त?
म पार्टी निर्माण हैन, छलफल चाहिँ गर्छु। नेटवर्क हुनसक्छ। साझा पार्टीबाट अलग हुँदा पनि संयोजक रविद्र मिश्रसँग मेरो अत्यन्तै हार्दिक सम्बन्ध छ। पेशागत पृष्ठभूमि भएकाले मजस्तै अरु नागरिक, विधार्थीसँग विकास समृद्धिको बहस गर्दा छुट्टै नेटवर्क बन्नसक्छ। हुनसक्छ भविष्यमा त्यो किसिमको व्यवसायिक नेटवर्कले बैकल्पिक राजनीतीमा जाऔं भन्यो भने त्यस्तो किसिमको नेटवर्क र साझा पार्टीबीच म पुलको माध्यम बन्नसक्छु। अथवा केही वर्षपछि साझाले नै जिरोबाट राष्ट्रिय अभियान सुरु गरौं भन्छ या गर्छ भने म पनि त्यही अभियानमा जोडिनसक्छु।

LEAVE A REPLY