पार्टी भित्रको आन्तरिक विवादको समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

0
25

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । आजको बैठकमा पार्टी भित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने बताइएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार आज अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण भइसकेको छैन । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता तामाङले बताउनुभयो ।कार्यदलले आन्तरिक विवाद समाधान गर्नेगरी १० बुँदे सहमति गरिसकेकाले बैठकबाट सो सहमति अनुमोदन हुने पनि उहाँले बताउनुभयो । कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई सहमतिको दस्तावेज हस्तान्तरण गरिसक्नुभएको छ । आज बस्ने बैठकमा पार्टी एकताको सन्देश दिन पनि सहमतिको दस्तावेज अनुमोदन हुने नेता तामाङले बताउनुभयो ।

स्थायी कमिटी बैठक मंगलबार १ बजेका लागि तय गरिएको भएपनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने समय २.०० बजे तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो । कार्यदलले सहमति गरेको विषय स्थायी कमिटीमा छलफल गरी अनुमोदन गर्ने र थप अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी एमालेले गरेको छ । स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठकको समय निर्धारण हुने नेता तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY