बीपी प्रतिष्ठानको बेथितिविरुद्ध सिंहदरबारमा आज बृहत् नागरिक आन्दोलनको धर्ना

0
23

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितिविरुद्ध बृहत् नागरिक आन्दोलनले आज (आइतबार) सिंहदरबारअगाडि धर्ना दिने भएको छ।

प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनले आइतबार बिहान ११ बजे सिंहदबार अगाडि धर्ना दिने तयारी गरेको हो। प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार र अनियमितताविरुद्ध विगत लामो सयमदेखि प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन गर्दै आएका छन्।उनीहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै आन्दोलनले आज सिंहदरबारमा धर्ना दिन लागेको हो।

‘बीपी प्रतिष्ठानमा मौलाएको बेथिति र सरकारको चरम लापरबाही सार्वजनिक संस्थानहरूमा देखिएको शासकीय अक्षमताको ठोस उदाहरणमात्र हो,’ आन्दोलनको तर्फबाट शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दशकौंको दलीयकरण र त्यसले निम्त्याएको शासकीय बेथितिले यस अस्पतालमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कमजोर बनाएको छ । धरानमा आन्दोलनरत सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा जनताको साथ चाहिएको छ।’

नागरिक आन्दोलनले सार्वजनिक संस्थामा वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गर्न र भ्रष्टाचारमा मुछिएका पदाधिकारीलाई कारबाही गर्न पनि माग गरेको छ। वृहत नागरिक आन्दोलनले यसअघि प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरुद्धमा पनि सडकमा प्रदर्शन गरेको थियो।

LEAVE A REPLY