विपन्न नागरिकलाई लक्षित गरेर विराटनगरमा फुड बैंक सञ्चालनमा

0
57

सिजनखबर : २३ जेठ विराटनगर । कोरोना महामारी नियन्त्रणका लागि लामो समयदेखि लगाइएको निषेधाज्ञाका कारण सबै क्षेत्र ठप्प बनेको छ । महामारीको संकटपूर्ण अवस्थालाई रोक्न निषेधाज्ञा जारी गर्नैपर्ने बाध्यताका कारण सर्वसाधारणको दैनिकी निक्कै कष्टकर बनेर गएको छ । ज्यालामजदुरी गरेर जीवनयापन गर्नेहरु सबैभन्दा बढी समस्यामा परेका छन् । बिहानबेलुकाको छाक टार्ननसक्दा कमजोर आर्थिक अवस्था भएकाहरुमा भोकको छटपटी सुरु भइसकेको छ । काम ठप्प भएर कमाइ नहुँदा रोगसँगै भोकको पीडा बेहोर्न बाध्य बनेका विपन्न नागरिकलाई लक्षित गरेर विराटनगरमा आइतबार बिहानदेखि फुड बैंक सञ्चालनमा ल्याइएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा बैंक सञ्चालनमा ल्याएर थोरै भए पनि राहत प्रदान गर्दै विपन्न वर्गको भोक टार्ने प्रयत्न गरेको हो ।

महामारीको भुङ्ग्रोमा पिल्सिएका बेला निषेधाज्ञाको मार खेप्नु पर्दा परिवार धान्न नसकेर पीडादायी अवस्था बेहोर्न बाध्य भएकालाई सहयोग गर्न बैंक सञ्चालनमा ल्याइएको शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा. लिका म्यानेजर सीताराम बर्तौलाले जानकारी दिए । उनका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारा दिएर अभियानका रुपमा यसलाई अघि बढाइएको छ ।

फुड बैंकबाट दैनिक दुुई सय जनालाई खाद्यान्नको व्यवस्थापन गरिने बर्तौलाको भनाइ छ । कम्तीमा सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा एक जनाले दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन पाउने छन् । वितरणको दायरा फराकिलो पार्दै राहत सामग्रीको परिणाम पनि बढाउने तयारी रहेको उनको भनाइ छ ।

अभियानबाट खाद्यान्न अभावको चपेटामा परिरहेको वर्गलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रा.लि, तुुलसी बहुुमुुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुलसी इण्डस्ट्रिज प्रा.लि र शिव शिखर एग्रो प्रा.लिले संयुक्त रूपमा फुुड बैंक सञ्चालनमा ल्याएका हुन् ।

अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूले अहिले तत्काललाई एक साताका लागि भनेर सुरु गरिएको फुड बैंकलाई अन्य क्षेत्रबाट सहयोग मिलेको खण्डमा निरन्तरता दिइने बताए । मोरङमा एक महिनादेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा कामधन्दा चौपट हुँदा पनि सरकारबाट राहत वितरण नभएपछि भात खान नपाएका गरिबको भोक मेटाउने प्रयास स्वरूप फुुड बैंकको अभियान चलाइएको जानकारी लिम्बूले दिए ।

दैनिक बिहान ७ देखि १० बजेसम्म सञ्चालन हुुने फुुड बैंकमा पहिलो दिन नै खाद्यान्न लिन आउनेको भीड लागेको थियो । फुुड बैंक सञ्चालन भएको थाहा पाएपछि विराटनगरका विभिन्न स्थानबाट विपन्न सर्वसाधारण चामल, नुन र दाल लिन आइपुगेका थिए । फुड बैङ्क बरगाछीस्थित तुुलसी बहुुमुुखी संस्थाको शो–रुममा सञ्चालन गरिएको छ ।

विराटनगरमा शब्जी पसल गर्दै आएकी धनमाया राईले निषेधाज्ञाका कारण परिवार धान्न मुस्किल परिरहेको गुनासो गरिन् । परिवार चलाउन शब्जी बेच्नैपर्ने ाध्यता भए पनि व्यापार बन्द भएर कमाइ नहुँदा ठूलो तनाव बेहोर्नु परिरहेको उनको भनाइ छ ।  महामारीका कारण दैनिकी कष्टकर बनिहेका बेला थोरै भए पनि राहत पाउँदा खुशी लागेको उनले बताइन् । यसअघि लकडाउन हुँदा राहत बाँडेको सरकारले यसपटक निषेधाज्ञामा कुनै चासो नदिँदा थप समस्या भोग्नु परिरहेको राईको गुनासो छ । गतवर्ष पनि लामो समयको लकडाउनका कारण समस्या भोग्नु परेको स्मरण गर्दै उनले भनिन्, ‘हामी गरिबलाई रोगको भन्दा भोकको चिन्ता धेरै छ ।’

LEAVE A REPLY