22.1 C
Kathmandu
Thursday, September 23, 2021

बलात्कार प्रयासपछि फरार कांग्रेसका वडा सदस्य पक्राउ

0

डोल्पा । प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङकी २६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्यलाईए पक्राउ गरेको छ ।  सोही वडाका वडा सदस्य ५३ वर्षीय वीरबहादुर बमलाई प्रहरीले बलात्कार प्रयासको आरोपमा  ०७८ साउन ११ गते पक्राउ गरेको छ।

फुल्चिङस्थित महिलाकै घरमा ०७८ असार २५ गते वडा सदस्य बमले बलात्कार प्रयास गरेका थिए । घटनापछि  फरार रहेका वडा सदस्य बमलाई पीडितले ०७८ साउन ४ गते दिएको उजुरीको आरोपमा साउन ११ गते त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँमा आफन्तकहाँ लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले पीडित महिलाको जिल्लास्थित अस्पतालमा स्वास्थ्य परीक्षण गराएर पीडकमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले कमी

0

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार  सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा निर्धारण भएको हो ।

गत सोमबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

0

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताए । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिए ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएके बताइएको छ ।  हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ । अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ ।इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए  ।
उहाँले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन् हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालिमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ ।  गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए । त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो ।  यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।

एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माण सुरु

0

वाग्मती – आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करीब रु पाँच करोडको अधिकतम् सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा उक्त कम्पनीको प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।उहाँका अनुसार सुरुङको पुनःनिर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुहुने जनाइएको छ । प्रदेश दुईको बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग विसं २०७५ तिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो ।

उक्त मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउछन् । सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएकोले त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा समेत उल्लेख गरेका छन् । स्वीट्जरल्याण्डबाट नेपालको खानीलगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् । यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्दछ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो । हाल पहिराले एकापट्टीको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ । नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डाक्टर गोविन्द केसीको माग

0

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ ।  ।मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै डाक्टर केसीले स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गर्नुभएको हो । व्यापारी र व्यवसायीहरु घुस खाएर चोरबाटोबाट सांसद र मन्त्री बन्ने गरेको र यस्ता व्यक्तिले आफ्नो व्यवसायको हित हुने गरी कानून बनाएरनीतिगत भ्रष्टाचार गर्ने गरेको भन्दै डाक्टर केसीले यस्तो काम नगर्न खबरदारी गनुृभएको हो ।

पढ्नुस् खबरदारी पत्रको पूर्णपाठ :

​​​​​​​प्रधानमन्त्रीलाई खबरदारी पत्र

श्री शेर बहादुर देउवा ज्यू, प्रधानमन्त्री

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबार ।

देशमा नयाँ सरकार गठन भएको छ । अरु क्षेत्रमा झैं मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि समस्याहरुको चाङ छ । तिनलाई समाधान गर्न नयाँ सरकारले सीमित भए पनि अग्रसरता लेला भन्ने हाम्रो अपेक्षा थियो ।

तर सरकारका शुरुआती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकहरुलाई पहिलै गाँसमा ढुंगा लागेको अवस्था अहिले छ । खास गरी देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पतालहरु फस्टाएको पृष्ठभुमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय छ र हाम्रा लागि स्वीकार्य छैन । स्वास्थ्यजस्तो संवेदनशील विषयमा नियमनकारी भुमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु हुँदैन ।

यो अवस्थामा सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रका समस्याहरुको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरुबारे ध्यानाकर्षण गराउनका लागि निम्न मागहरुसहित यो पत्र लेखेका छौंः

१. नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस् । अब उपरान्त व्यापारी वा व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई करोडौं घुस ख्वाएर चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरु डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् ।

२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरु पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प छैन । त्यसका लागि जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गरिनुपर्छ । त्यसपछि बीपी प्रतिष्ठान लगायत कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रुपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्नुपर्छ । त्यसका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्छ ।

३. पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा हाम्रो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुन अनुसार कारवाही गर्नुपर्छ ।

४. विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर-नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्छ । अब कुनै पनि हालत वा वहानामा निजी मेडिकल कलेज खोलिनु हुँदैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गर्नुपर्छ । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्छ । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्छ । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक शिक्षण संस्थाका रुपमा रहेका नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय मेडिकल स्कुलमा तत्काल सोही ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्ति कायम गर्नुपर्छ । काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत सो प्रावधान लागू हुनुपर्छ ।

५. नेपालमा मेडिकल माफियाहरुले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेका छन् । अहिलेको सत्तारुढ दलनिकट माफियाहरुको चलखेल पछिल्लो समय बढेको छ । देशका धेरै निजी मेडिकल कलेजहरुलाई मुठ्ठीभर आपराधिक पृष्ठभुमिका माफियाहरुले लिने क्रम चलिरहेको छ । गत चुनावमा उनीहरुमध्ये केहीले मुख्य पार्टीहरुका तर्फबाट चुनावमा टिकट समेत पाएका थिए । नयाँ सरकारलाई हामी प्रष्ट भाषामा चेतावनी दिन चाहन्छौंः अपराधी र माफियाहरुको कुनै राजनीतिक दल वा विचार हुँदैन । उनीहरु जोसुकैको नजिक भए पनि दण्डित हुनुपर्छ । उनीहरुसित खर्च लिएर पार्टीहरु चुनाव लड्ने हो भने यो देशको स्वास्थ्य र मेडिकल शिक्षा त कहिल्यै उँभो लाग्ने छैन नै, हाम्रो राजनीतिको अहिलेको भ्रष्टीकरण र अपराधीकरण झनै मौलाएर जानेछ । त्यसैले उनीहरुलाई कुनै पनि हालतमा चुनावी टिकटलगायतबाट पुरष्कृत गरिनु हुँदैन । बरु २०८५ सालदेखि सबै मेडिकल कलेजहरु नाफारहित हुने हुँदा नेपालको मेडिकल शिक्षालाई अहिल्यैदेखि त्यस दिशामा लैजाँदै माफियाहरुलाई निरुत्साहित गरिनुपर्छ ।

६. यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन हुनुपर्छ । तीमध्ये चिकित्सा शिक्षा ऐनको सम्झौताको संशोधन पनि पर्छ । पछिल्लो समयको अनुभवले चिकित्सा शिक्षा आयोेगमा प्रधानमन्त्री र मन्त्रीहरुलाई राख्दा चरम् राजनीतिक हस्तक्षेप र विसंगति देखिने कुरा पुष्टि भएको छ । त्यसैले अबको संशोधनमा आयोगका अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिनुपर्छ ।

यी मागहरु पूरा गर्नुको सट्टा सरकारले आम नागरिक र विद्यार्थीहरुको सट्टा सीमित शैक्षिक र मेडिकल माफियाको हितमा काम गर्यो भने हामी सत्याग्रहसहित जस्तो सुकै आन्दोलनका कार्यक्रमहरु ल्याउन पनि तयार रहनेछौं ।

अन्तमा, कोभिड महामारीको दोस्रो लहर अझै पूर्ण रुपमा नसकिएको तथा तेस्रो लहरको जोखिम कायमै रहेकाले परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न तथा यस अगाडिको सरकारले झैं महामारीलाई कमाउधन्दाको माध्यम बन्न नदिन पनि सरकारको ध्यानाकर्षण गराउँछौं ।

डा गोविन्द केसी

Last Posted Articles