22.1 C
Kathmandu
Thursday, September 23, 2021

कलंकीबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

0

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशम लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

इराकको कोरोना आइसोलेसन वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

0

 इराक  इराकको एक अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

बीबीसीका अनुसार सोमबार राति नासिरियाको अल–हुसेन अस्पतालमा आगलागी हुनुको कारण खुल्न सकेको छैन तर अक्सिजन ट्यांक पड्किएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

यो घटनासँगै प्रधानमन्त्री मुस्ताफा अल–कादेमीले अस्पतालका प्रमुखलाई गिरफ्तार गर्न आदेश दिएका छन्। आगलागीको घटनापछि मृतकका आफन्तले यतिबेला अस्पताल प्रशासनविरुद्ध आन्दोलन गरिरहेका छन्।

सोमबार अबेर रातमा आगलागी नियन्त्रणमा आएको थियो। रोयटर्सका अनुसार यतिबेला मृतकका आफन्त र प्रहरीबीच झडप पनि भएको छ। रुष्ट भीडले प्रहरीको दुईवटा गाडी जलाइदिएका छन्।

३ महिना अगाडि मात्र अस्पतालमा सो आइसोलेसन वार्ड बनाइएको थियो। त्यहाँ ७० शय्या थिए। अधिकारीहरुका अनुसार आगलागी हुँदा उक्त वार्डमा ६३ व्यक्ति थिए ।

कोरोनाका कारण विदेशमा थप १२ नेपालीको निधन

0

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।  ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन्।

समितिका संयोजक डा‍ संजिव सापकोटाका अनुसार शनिवार साँझ (१० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन्।

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४  दशमलव ६ प्रतिशत अर्थात ६  लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण शनिवार  सांझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ।

हतियारसहित दुई युवक पक्राउ

0

लहान – हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत आइतबार कटुवा पेस्तोलसहित सिरहाको गोलबजारबाट औरही गाउँपालिका–२ निवासी सुजितकुमार यादवलाई पक्राउ गरिएको थियो । यादवको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको थियो ।

कैद सजाय पाएर फरार सदा पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा छ महिना चार दिन कैद सजाय पाएर फरार कर्जन्हा नगरपालिका–३ खैराटोल निवासी ३९ वर्षीय श्रीप्रसाद सदालाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सदालाई पक्राउ गरिएको र आज जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशबासीका नाउँमा संवोधन गर्न लाग्नुभएको हो ।

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लाग्नुभएको हो ।

सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । उहाँले केपी ओलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ ।  प्रधानमन्त्री ओलीले देशबासीका नाउँमा संवोधन गर्दै बालुवाटार छाड्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीको संवोधन हुने भएसँगै आज बस्ने स्थायी कमिटी बैठक पनि सर्न सक्ने एमाले स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

0

काठमाडौं । फैसला जनभावनानुसार: सभामुख सभामुख

अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।’

ऐतिहासिक फैसला: कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको निर्णयपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलालाई स्वागतयोग्य कदम भनेका हुन् ।

फैसला त्रुटिपूर्ण तर स्वीकार गर्ने: एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

महत्वपूर्ण परिघटना: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलालाई इतिहासमै एक महत्वपूर्ण परिघटनाका रूपमा लिएका छन् । उनले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने पनि बताएका छन् ।

फैसला स्वागतयोग्य: जसपा
जनता समाजवादी पार्टी ९जसपा०ले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई अदालतले फेरि एकपटक रोकेको जनाउँदै जसपाले फैसलाको स्वागत गरेको हो ।

एसईईको नतिजा साउन अन्त्यमा

0

काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ ।

जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो ।

बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिनुभयो । यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उहाँको भनाइ छ । समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिए पनि हालसम्म एउटा जिल्लाबाट मात्रै विवरण आएको र त्यो पनि अमिल्दो भएका कारण फर्काइएको जानकारी बोर्डले दिएको छ ।

समन्वय एकाइको तयारी हेर्दा केही ढिला हुनसक्ने आकलन गरिएको छ तर अब बोर्डले समन्वय एकाइलाई विद्यार्थीको विवरण पठाउन म्याद थप भने नगर्ने भएको छ । म्याद थप हुँदा विवरण तयार भएका जिल्लाले पनि विवरण नपठाउने भएकाले केही दिन ढिला भए पनि म्याद थप नहुने जनाइएको छ । सबै विवरण आएपछि बार्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्नेछ ।

ओलीको सुखद प्रवेश, दु:खद बिदाइ

0

काठमाडौं । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक विकासको पनि आशा र अपेक्षा गरेका थियो। अझ चुनावी गठबन्धन बनाएका दुई दलबीच एकीकरण भएपछि आम जनताले ओली नेतृत्वको सरकारबाट थप अपेक्षा गरेका थिए । आर्थिक विकासको तीव्र अभिलाशा सँगालेका जनताको बुझाइ थियो– आर्थिक विकासको बाधक अस्थिर सरकार हो।

तर दुईतिहाइ समर्थनसहित सरकारमा रहेका ओली संसद्मा बहुमत सिद्ध गर्न त असफल भए नै, सर्वोच्च अदालतको आदेशमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्थामा पुगेका छन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि माओवादी केन्द्रको समर्थनमा पहिलो पटक ओली प्रधानमन्त्री बनेका थिए। त्यति बेला पूर्वसहमति पालना नगरेको भन्दै माओवादी केन्द्र नै ओलीविरुद्ध खनियो। संसद्मा उसले अविश्वासको प्रस्ताव नै राखेपछि ओलीले २०७३ साउन १९ गते प्रधानमन्त्री छाड्नुपरेको थियो।

दक्षिण कोरियामा मजदुरको तलब ५ प्रतिशतले वृद्धि, नेपाली मजदुरको न्यूनतम तलब २ लाख

0

सउल । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।

सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ । यो रकम झण्डै नेपाली रु दुई लाख बराबर हो । न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ । सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको बैठकले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।

न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा मजदुरका तर्फबाट प्रतिनिधित्व गर्नेले अहिलेको आठ हजार ७२० वनबाट १० हजार वन माग राखेका थिए भने व्यवसायीको तर्फबाट प्रतिनिधित्व गर्नेले भने आठ हजार ७२० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण व्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने तर्क गरेका थिए ।

मजदुरका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४४० वन वृद्धि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो ।

प्रतिघण्टा ४४० वनको वृद्धि भनेको पाँच दशमलव ०४६ प्रतिशतको वृद्धि हो तर न्यूनतम ज्याला निर्धारण समितिले औपचारिक प्रयोगका लागि ५।१ प्रतिशतको वृद्धि मानेको छ । कानूनीरूपमा न्यूनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ ।

मजदुरका लागि महिनाको १० हजार वन पुर्‍याउने चुनावी लक्ष्य राखेका राष्ट्रपति मुनजे इन कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तैपनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन् २०१९ मा १०.९ प्रतिशत, सन् २०१९ मा २.९ प्रतिशत तथा सन् २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब वृद्धि भएको थियो ।

Last Posted Articles