22.1 C
Kathmandu
Thursday, September 23, 2021

काेराेना नियन्त्रणका लागि जर्मनीले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध हट्ने

0

बर्लिङ । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ ।

दुबै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ । खोप नलगाएका व्यक्तिले पनि क्वारिन्टीनमा बसेको पाँचौँ दिनमा परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँडडुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ । बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो । सुरुमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिमयुक्त प्रजातीका रूपमा वर्गीकरण गरेको छ ।

महामारी नियन्त्रणका लागि ती मुलुकका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइएको भएपनि जर्मनीका नागरिक वा स्थायी बासिन्दाहरूमाथि प्रतिबन्ध लागु गरिएको थिएन तर उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने गरिएको थियो ।यी पाँच राष्ट्रहरूलाई अब सङ्क्रमितहरूको सङ्ख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

ब्राजिल कठिन जित निकाल्दै कोपा अमेरिकाको फाइनलमा

0

काठमाडौं । कोपा अमेरिकाको सेमिफाइनलमा परुसँग कठिन जित निकाल्दै ब्राजिल फाइनलका लागी उक्लेको छ । मंगलबार विहान भएको खेलमा पेरु विरुद्द १ मात्रै गोल गरेको ब्राजिलले फाइनलको यात्रा तय गरेको हो ।

निकै प्रतिष्पर्धात्मक भएको खेलको पहिलो हाफको ३५ औं मिनेटमा स्टार खेलाडी नेयमारको पासमा लुकास पक्युटाले गरेको गोल नै निर्णायक र एकमात्रै गोल भएपछि ब्राजिल फाइनलका लागी सुनिश्चित भएको हो । बुधबार हुने अर्जेन्टिना र कोलम्बियाबिचको बिजेतासँग ब्रजिलले फाइनल खेल्ने छ । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।

पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी

0

मनाङ – हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताउनुभयो । डा गौलीले भन्नुभयो,“बाढीपहिराले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको छ । आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । बाढीपहिराबाट विस्थापित भएका नागरिक एउटै कारागार भवनमा ३०० जना बसेका छन् । त्यस कारणले कोभिड– १९ को मात्र नभएर पानीजन्य रोग फैलिने होकी भन्ने हाम्रो चिन्ता छ ।”

अस्पतालमा आजभोलि पानीजन्य सम्बन्धित रोगका बिरामी धेरै आउने गर्दछन् । “अहिले नै पानीजन्य रोगको सङ्क्रमणले महामारीको रुप त लिएको छैन तर, यस्ता सरुवा रोगदेखि सचेत हुनुपर्दछ ।” यो वर्ष कोरोना महामारीको उच्च जोखिम त्यसमाथि बाढीपहिराले पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने भन्दै डा गौलीले जिल्लावासीलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ,“बाध्यतावस जिल्लामा बाढीपहिरोबाट विस्थापित नागरिक एकै ठाउँमा बसेका छन् । तर, बस्दा सरसफाइदेखि लिएर खानेपानीलाई उमालेर हुन्छ कि अन्य शुद्विकरणका उपाय अपनाएर मात्र पिउन जिल्लावासीलाई अनुरोध गर्दछु ।” वर्षात् शुरु भएसँगै ब्याक्टेरिया, भाइरस तथा जीवाणु बढी सक्रिय हुने गर्दछ । गर्मी एवं वर्षायाममा रोगको प्रकोप अन्य यामको तुलनामा बढ्ने गर्दछ । जसले गर्दा यो मौसममा झाडापखला, जण्डिस, भाइरल ज्वरो, डेङगु, आँैलौ, सर्पदंशलगायतका बिरामीको सङ्ख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ ।

जिल्लामा अबिरल वर्षापछि आएको बाढीपहिराले विद्युतीय क्षेत्रमा पु¥याएको क्षतिबाट अस्पताल प्रभावित भएको छ । अस्पतालमा प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको पनि डा गौलीले बताउनुभयो । अस्पतालमा भएको जेनेटर दुई दुईघण्टा मात्र खोलेर प्रयोगशाला सञ्चालन गर्नुपरेको डा गौलीले बताउनुभयो । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य कार्यालय मनाङले काम अगाडि बढाएको छ । जिल्लामा बाढीपहिरो गएपछि क्लोरिन ट्याब्लेटको माध्यमबाट खानेपानीलाई शुद्धीकरण गरिएको जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य छन् । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरेका छौँ, यसका साथै पानीजन्य रोगबाट सङ्क्रमण बढ्न सक्ने भन्दै सूचनामूलक सन्देश दिँदै हिँडेका छौँ ।” मनाङका विभिन्न स्थानमा भौतिक संरचनामा ठूलो क्षति हुने गरी बाढीपहिरो गएको छ ।

जिल्लामा बाढी पछि आउन सक्ने पानीजन्य रोगको जोखिम भएकाले सबैले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय मनाङको आग्रह छ । यस परिस्थितमा उद्धार, राहतका कार्यमा जुट्दा कोरोना विरुद्धको स्वास्थ्यका मापदण्ड नअपनाउँदा, सफा पिउने पानी नपाउँदा, लामखुट्टेबाट बच्न नसक्दा, उपयुक्त गाँस र बाँसको प्रबन्ध राम्रो नहुँदा झनै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउन सक्ने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ ।

१४६ लाई जग्गाधनी पुर्जा वितरण

0

सिन्धुली – सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।

जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा वितरण आदेश भएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको नापी कार्यालय सिन्धुलीका सूचना अधिकारी विष्णु बडालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयलाई १४६ वटा जग्गाधनी पुर्जा वितरणको आदेश आएको थियो हामीले आर्थिक वर्ष २०७७÷७८ को लक्ष्यअनुसार हामीले पुर्जा वितरण गरिसकेका छौँ ।”“नाप नक्सा भएका २५० गाउँब्लकको तीन हजार ३८२ कित्ता सङ्ख्याको जग्गाधनी पुर्जा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । यस आवमा नापी कार्यालयले १२४ वटा स्रेस्ता हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

दुई हजार ५०३ कित्ता सङ्ख्या दर्ता भइसकेको र अब ८७९ कित्ता दर्ता हुन बाँकी रहेको छ । कार्यालयले यस आवको शुरुदेखि हालसम्म गोलन्जोर गाउँपालिकाको खुर्कोटमा १३, भुवनेश्वरीमा छ, सुनकोशी गाउँपालिकाको मझुवामा २२, तीनपाटन गाउँपालिकाको रानीचुरीमा आठ, बेलघारीमा २५, भीमस्थानमा ६७ र बाहुनतिल्पुङमा चार जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको सूचना अधिकारी बडालले जानकारी दिनुभयो ।साथै कार्यालयले मरिण गाउँपालिकाको कल्पवृक्षमा आठ, दुधौली नगरपालिकाको निपानेमा १५ र घ्याङलेख गाउँपालिकाको बस्तीपुरमा आठ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको उहाँको भनाइ छ । साविक भीमस्थान, बेलघारी, भीमेश्वर, भुवनेश्वरी, मझुवा, बस्तीपुर, कल्पवृक्ष, निपानेलगायतका गाउँ विकास समितिमा रहेका २० वटा गाउँब्लकको जग्गाधनी पुर्जा वितरण गरिएको उहाँको भनाइ छ ।

रानीवास, क्यानेश्वर, तीनपाटनलगायत अन्य स्थानमा दर्ता बाँकी रहेकाले आगामी आवमा दर्ता गर्ने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । यस आवमा वितरण गरिएका जग्गाधनी पुर्जाको स्रेस्ता आगामी आवमा मालपोत कार्यालयलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।

अपडेटः रुसी विमान समुद्रमा खस्यो, २८ व्यक्तिको अवस्था अज्ञात

0

२८ व्यक्ति सवार एउटा रुसी विमान मंगलबार बेपत्ता भएको छ।

रुसी समाचार संस्था टासका अनुसार कामचत्का पेनिनसुला क्षेत्रमा अवतरणका क्रममा सम्पर्कविहीन भएको एएन–२६ विमान समुद्रमा खसेको जानकारी प्राप्त भएको छ।अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएपछि विमान दुर्घटनामा परेको आशंका गरिएको थियो। सो विमानमा २२ यात्रु र ६ चालकदलका सदस्य थिए। रुसी आपतकालिन मन्त्रालयका अनुसार हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ। आइतबार मात्र फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटनामा पर्दा ५० जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

मधेशका लोकप्रिय नेता थिए महादेव यादव

0

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको क्यान्सर रोगबाट निधन भएको छ । तीनवर्षदेखि क्यान्सरबाट पीडित नेता यादवको ५७ वर्षको उमेरमा गएराति निधन भएको हो। गएराति १० बजे जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित आफ्नै घरमा यादवको मृत्यु भएको उनका भतिज श्याम यादवले नेपालखबरलाई जानकारी दिए।

भतिज श्यामका अनुसार बाबासिर क्यान्सरबाट पीडित नेता यादवको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। समस्या समाधान नभएपछि पछिल्लो समय चितवन क्यान्सर अस्पतालका डाक्टरको सल्लाहमा घरमै राखेर औषधि उपचार गरिएको थियो। उनको आजै सम्मानपूर्वक जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने माओवादी केन्द्र धनुषाका सचिव दिपक यादवले जानकारी दिए। अन्त्येष्टि तथा श्रद्धाञ्जलि कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवसहितका शीर्ष नेताहरु सहभागि हुने कार्यक्रम छ।
साविक धनुषाको सहीद नगरनगरपालिका १ बालाबाखर घर भएका नेता यादव तत्कालिन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सुरुदेखि नै सहभागि भएका थिए। उनले महोत्तरी, धनुषा र सिरहाको कमाण्ड भएर पनि काम गरेका थिए।

जेटिएको स्थायी जागिर छोडेर नेता यादव कम्युनिष्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका यादव यस क्षेत्रका तत्कालिन नेता रामवृक्ष यादवको प्रभावमा तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका थिए। पछि उनलाई पार्टीले महोत्तरी, धनुषासको कमाण्डरको जिम्मा दिएको थियो। नेता यादव नेकपा माओवादीबाट संविधानसभाको २०६४ को पहिलो निर्वाचन धनुषाको क्षेत्र नं. ५ बाट निर्वाचन लडेका थिए।

सोहि क्षेत्रबाट विजयी भएका डा.रामवरण यादव राष्ट्रपति भएपछि उप निर्वाचनमा पुनः उनी चुनाव लडेका थिए। त्यतिबेला पनि उनले जित्न सकेनन्। उप निर्वाचनमा नेकपा (एमाले) बाट रघुवीर महासेठ निर्वाचित भएका थिए। पछिल्लो समय नेकपा माओवादी विभाजन हुँदा नेता यादव वैद्य पक्षमा लागेका थिए। पछि बादलसँग उनी प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा पुनः सक्रिय भएका थिए। हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। उनी धनुषामा लोकप्रिय एवं इमान्दार नेताको रुपमा परिचित छन्।

Last Posted Articles