सिजन खबर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत प्राप्त गरे। मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका सिंहले अन्तिमसम्म सो अग्रता कायम राख्दै उल्लेखनीय अन्तरले विजय सुनिश्चित गरेका हुन्।
निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ मत पाएका छन्। त्यसैगरी जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेका छन्। कुल एक लाख २१ हजार १२ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवार सिंहका समर्थकहरूले खुसीयाली मनाएका छन् भने अन्य दलहरूले परिणामको सम्मान गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा जनताको बीचमा जाने बताएका छन्।