सिजन खबर फागुन १ सिराहामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने बताएका छन्। उनले फागुन २१ मा निर्वाचन, चैतमा सरकार गठन र वैशाख १ गते प्रधानमन्त्रीले प्रतिज्ञापत्र सार्वजनिक गर्ने स्पष्ट समयरेखा प्रस्तुत गरे। ‘भाषण होइन, काम गरेर देखाइन्छ’ भन्दै उनले वैशाखभर तयार गरिएका योजनाको जेठ १ गते मूल्याङ्कन गरिने र प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने जानकारी दिए। उक्त प्रक्रियामा नागरिकलाई प्रत्यक्ष सहभागी गराइने उनको भनाइ छ।
थापाले नतिजामुखी, जवाफदेही र समयमै मूल्याङ्कन हुने सरकार सम्भव रहेको दाबी गर्दै त्यसका लागि उत्साह, अनुभव र सबैलाई मिलाएर अघि बढाउने क्षमता आवश्यक पर्ने बताए। कांग्रेस उम्मेदवारले जिल्लास्तरमा गरेका प्रतिबद्धता पूरा हुने जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै उनले जनतालाई पहिले जिताएर पठाउन आग्रह गरे। देशभरिका आमाको अनुहारमा मुस्कान, युवामा भरोसा र नागरिकमा “नेपाली हुँ” भन्ने गर्व जगाउने लक्ष्यसहित कांग्रेस अघि बढेको बताउँदै युवाकै भविष्यका लागि आफूले जोखिम मोलेर सभापति पद सम्हालेको उनको भनाइ थियो।