सिजन खबर २५ माघ इंग्ल्यान्डले पावर प्लेमा २ विकेट गुमाई ५७ र १२ ओभरमा ३ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तर नेपालले त्यसपछि राम्रो पुनरागमन गरेको थियो ।
मुम्बई — ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकपमा नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले आइतबार वानखडे रंगशालामा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

बेथेलले कुशल भुर्तेलको बलमा लगातार दुई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३५ बल खेलि समान ४ चौका र छक्का प्रहार गर्दै ५५ रन बनाए । उनी ट्वान्टी–२० विश्वकपमा अर्धशतक बनाउने इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।
उनले यो सफलता २२ वर्ष ३ महिना १६ दिनका दिन बनाएका थिए । यसअघि क्रेग किसवेटरले २२ वर्ष ५ महिना १८ दिनका अर्धशतक बनाएका थिए ।
ब्रुकले १९ ओभरको पहिलो बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै ३२ बलमा अर्धशतक पूरा गरेका थिए । अर्को बलमै नन्दनले ब्रुकलाई शेर मल्लबाट क्याच गराए । ब्रुकले ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए ।