सिजन खबर-माघ १८ संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ। यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त आममाफीलाई नेपाल–यूएईबीचको मित्रता, सद्भाव र मानवीय सहयोगको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनमा निरन्तर कूटनीतिक पहल र अनुरोध गरेपछि यूएई सरकारले यो निर्णय गरेको हो। आममाफी पाएका नेपाली नागरिकहरूमाथि अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा यूएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्किन सक्ने जनाइएको छ। यूएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहित, सुरक्षा र कल्याणका विषयमा नेपाल सरकारले निरन्तर कूटनीतिक प्रयास गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।