काठमाडौं सोमबार, माघ १२ महानगरपालिकाका पूर्वमेयर बालेन शाहविरुद्ध निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक तथा मानहानिकारक अभिव्यक्ति दिएको आरोपसहित निर्वाचन आयोगमा उजुरी परेको छ। निवेदक धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको पारदर्शी र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भमा बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख छ। उजुरीमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर र तथ्यहीन आरोप भएको दाबी गरिएको छ।
यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने खतरा रहेको निवेदनमा उल्लेख छ। साथै, भ्रामक सूचना र घृणात्मक अभिव्यक्तिले निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचनको संवैधानिक उद्देश्य कमजोर बनाउने भन्दै तथ्यपरक छानबिन र आवश्यक कारबाहीको माग गरिएको छ। त्यस्तै, महोत्तरीलगायत क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडिओ सार्वजनिक भएको जनाउँदै उक्त घटनाको पनि सत्यतथ्य छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ।