काठमाडौँ — एपीएफ र नेपाल पुलिस क्लब आठौं केएनपी शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा साबिक विजेता एपीएफले त्रिभुवन आर्मी क्लबलाई २५–२०, २५–१३, २५–१६ को सोझो सेटमा हरायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ मा पुलिसले पूर्वविजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई २५–१४, २५–२२, २५–१३ ले हरायो । समूह ‘बी’ दुई टिममात्र रहेकाले पुलिस विजेता रन्यु डायमन्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।
उद्घाटनमा राष्ट्रिय खेलाडी उषा भण्डारीलाई ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरियो । उषा विदेशमा रहेकाले सम्मान आमाबुवाले ग्रहण गरे । भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टलाई पनि ५० हजारसहित सम्मान गरियो । उनीहरूलाई राखेप सदस्य–सचिव टंकलाल घिसिङ, प्रतिष्ठानकी संरक्षक गमली खड्का र अध्यक्ष रञ्जन खड्काले सम्मान प्रदान गरे ।