काठमाडौं चैत्र २०। पहिलो जित खोजीमा रहेका दुई टोली ललितपुर सिटी एफसी र पोखरा थन्डर्स बुधबार भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पाँचौँ दिनको यी दुई टोलीबीचको खेल साँझ ६ बजे हुनेछ।
साबिक विजेतासमेत रहेको ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग २–२ को बराबरीमा रोकिएको थियो। हुनै समय जितनजिक पुगिसकेको ललितपुर सम्हालिन नसक्दा पहिलो खेलमै अंक बढ्न बाध्य भएको हो।
यता, पोखराले भने एफसी चितवनसँग २–० को हार बेहोर्न बाध्य भयो। एनएसएलको तेस्रो संस्करणमा चितवनसँग पहिलोपल्ट पराजय बेहोरेको पोखरा आफ्नो दोस्रो खेलमा ललितपुरलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ।
हालसम्म यी दुई टोली तीनपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। तर, लिग चरणमा भने यी दुवै टोलीले न जित हासिल गर्न सकेका छन् न गोल नै। पहिलो र दोस्रो संस्करणको लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए।
तर, दोस्रो संस्करणमा क्वालिफायर २ मा भने ललितपुरले पोखरालाई २–१ ले पराजित गर्दै फाइनल पुगेको थियो। फाइनलमा धनगढीलाई हराउँदै ललितपुर उपाधि जित्न सफल पनि भएको थियो। यो भेटमा इमो इजिके र कुशल देउवाले गोल गरेका थिए। पोखरा स्टेफन कोजीको गोल सान्त्वना रहेको थियो।
पहिलो खेलमा काठमाडौंविरुद्ध पहिलो हाफमै लिएको २–० को अग्रता जोगाउन नसकेको ललितपुर भने पोखराविरुद्ध अघिल्लो संस्करणमा झैं जित निकालेर चोटमा मलम लगाउने प्रयासमा हुनेछ।