काठमाडौं चैत्र ३ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो जित दर्ता गरेको छ। लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित निकालेको हो। लमहीस्थित, देउखुरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३२.४ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको थियो।
लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको हो। बागमतीका लागि कप्तान पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए। ओपनर ब्याटर आशुतोष घिरौयाले ११ रन बनाउँदा अर्का ओपनर रित गौतम डक आउट भए।
सुमन सुनारले ११ रन बनाउँदै क्याच आउट भए। गौतम केसी ८ रनमा अविजित रहे। लुम्बिनीका लागि अजय चौहान र विप्रसन केसीले समान ३–३ विकेट लिए। निर्मल गुरुङ र रमेश कुर्मीले २–२ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए। उनले ५३ बलमा १ छक्का प्रहार गरे।
ओपनरद्वय मिर्नाल गुरुङ र मनिष थापाले क्रमशः ५ र १५ रन बनाए। कप्तान देव खनालले १५ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बागमतीका लागि गौतम केसीले सर्वाधिक ४ विकेट लिए। सुर्य तामाङ र इशान पाण्डेले समान २–२ विकेट लिए। रिजन ढकाल र सोनु देवकोटाले १–१ विकेट लिए।