काठमाडौँ – १८ : गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानून कार्यान्वयनका लागि गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको दाबी गरेका छन्।
राष्ट्रियसभाको आइतवारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। उनले स्रोत र साधनको सीमितताको बीच कार्यसम्पादन गर्नु परिरहेको हुँदा कतिपय विषयमा अपेक्षानुरूप काम हुन नसकेको समेत बताए। जनताले अनुभूत गर्ने गरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृह मन्त्रालय संवेदनशील र गम्भीर भएर काम गरिरहेको उनको भनाइ छ।
उनले मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको समेत उल्लेख गरे।
उनले भने, ‘मनसुनजन्य विपद् एवं भूकम्पबाट भएको क्षतिको पुनःस्थापना र क्षतिको पुनःनिर्माणको कामले लय समातेको छ। नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकार लगायत लोकतान्त्रिक मूल्यमान्यता सम्मान गर्ने गरी कानून कार्यान्वयमा गृह मन्त्रालयका संयन्त्रहरू निष्पक्ष रूपमा परिचालन गरिएको छ। स्रोत र साधनको सीमितताको बीच कार्य सम्पादन गर्नु परिरहेको हुँदा पक्कै पनि कतिपय विषयमा अपेक्षाअनुरुप काम हुन नसकेको होला। तैपनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनताले अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा म र मेरा मन्त्रालय गम्भीर र संवेदनशील ढंगबाट काम गरिरहेको छ।’