यमन, १३ मााघ । अन्तराष्ट्रिय मुख्य शिपिंग मार्गमा इरान समर्थित हुथी समूहले बेलायती तेल कार्गो जहाजमा हमला गरेका छन ।
पछिल्लो घटनामा यमनको हुथी विद्रोहीहरूले मिसाइल आक्रमण गरेपछि अडेनको खाडीमा एउटा तेल ट्याङ्करमा आगो लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
समाचार अनुसार बेलायती तेल ट्याङ्कर मर्लिन लुआन्डाका अपरेटरले शुक्रबार भने कि ‘जहाजलाई रेड सी पार गरिसकेपछि एडेनको खाडीमा मिसाइलले प्रहार गरिएको हो, बोर्डमा आगो निभाउन र नियन्त्रण गर्न अग्नि नियन्त्रक उपकरणहरू तैनाथ गरिएको छ।’ सो घटनाको जिम्मेवारी हुथी बिद्रोहीले लिएका छन ।
‘हाम्रो देश यमन विरुद्ध अमेरिकी–ब्रिटिश आक्रमण र प्यालेस्टिनी जनताको समर्थनमा ट्याङ्करमा मिसाइल प्रयोग गर्नु परेको’ भन्दै इरान समर्थित लडाकुहरूले आक्रमणको जिम्मेवारी लिएका हुन ।
सो जहाज सञ्चालन गर्ने र बेलायतमा कार्यालय रहेको कमोडिटी समूह ट्राफिगुराका अनुसार सो स्थितिको अनुगमन गरिरहेको छ र यस क्षेत्रमा सैन्य जहाजहरू सहायता प्रदान गर्नका लागि अग्रसर रहेका छन ।
बेलायती सरकारले आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
उता, युएस सेन्ट्रल कमाण्डले यमनको हुथी नियन्त्रित क्षेत्रबाट विद्रोहीहरूले ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि जहाजले संकटकालीन कल जारी गरेको र क्षति भएको जानकारी दिएको जनाएको छ ।