काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु अस्पताल धापाखेलमा दुई परिवार बिच मृगौला साटासाट गरि सफलतापुर्बक प्रत्यारोपण (PAIR TRANSPLANT) गरिएको थियो । अनुभवी ट्रान्सप्लान्ट सर्जन तथा वरिष्ठ युरोलोजिष्ट डा. बिजयमान सिह कटुबालको नेतृत्व र सिनियर सर्जन डा. डिभी कार्की, डा. किरण श्रेष्ठ, डा. जियाउल हक तथा नेफ्रोलोजिष्ट डा. ललित कुमार यादव र सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा, डा. एजेलिया अमात्य लगाएतले यो प्रत्यारोपण सम्पन्न गरेको हो । यस्तो प्रत्यारोपण र अन्य धेरै जटिल प्रकृतिका शल्यक्रिया सफलतापुर्वक गर्न सफल डा. कटवालको सक्षम टिमको सेवा ललितपुरको धापाखेलमा अवस्थित सुमेरु अस्पतालले प्रदान गर्दै आइरहेको छ ।
डा. कटवाल नेपालमा पहिलोपटक ल्याप्रसकोपिक ( ठूलो चिरफार नगरी दुरबिनको प्रयोगबाट गरिने शल्यक्रिया) प्रविधिबाट मृगौला प्रत्यारोपण गर्ने पहिलो नेपाली सर्जन हुन् । डा. कटवालले बिगतमा क्यान्सर संक्रमित श्रीमतीको मृगौलाको क्यान्सर प्रभावित भाग काटेर बाँकी भाग श्रीमानको शरीरमा समेत सफलतापुर्वक प्रत्यारोपण गरेका छन् । दुई वर्ष अघि गरिएको त्यो शल्यक्रिया त्यस प्रकारको विश्वभर मै भएको १०५ औँ शल्यक्रिया रहेको थियो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ९ वर्षसम्म युरोलोजी तथा मृगौला प्रत्यारोपण विभागमा सक्रियतापुर्वक सेवा प्रदान गरेका डा. कटवालको टिमसँग आठजना मृगौला ग्रहणकर्तालाई मष्तिस्क मृत्यु भएका ४ जनाको मृगौला समेत सफलता प्रत्यारोपण गरेको अनुभव छ ।
हालसम्म नेपालमा यसप्रकार मष्तिस्क मृत्यु भएका ६ जनाको मात्र मृगौला प्रत्यारोपण भएकोमा ४ जनाको शल्यक्रिया डा. कटवालको नेतृत्वमा भएको थियो। हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न गरि सकेको अस्पताल श्रोतले जनाएको छ। विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । नेपालको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यवस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थमा पुगेका बिरामी बीच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या देखिएको छ । यस्तोमा थप सुविधाका लागि कानुनले मृगौला पिडीत दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यवस्था र सुबिधा दिएको छ । तर, त्यस्तो सुबिधा बारे धेरै बिरामी तथा परिवारजनलाई जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ । अवस्था र परिस्थिति अनुसार अस्पतालले बिरामीहरुलाई स:शुल्क रुपमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।