काठमाडौं, २९ साउन । लगातारको वर्षाको कारण पानीको बहाव उच्च भएपछि सप्तकोशी र नारायणी ब्यारेजका सबै ढोका खोलिएको छ।
सुनसरीस्थित सप्तकोशीमा पानीको बहाव ३४ वर्ष यताकै सबैभन्दा उच्च मापन गरिएको छ। जसकारण खतराको संकेत बाल्दै ब्यारेजका ५६ वटै ढोका खोलिएको हो।
सप्तकोशी अन्तर्गतको कोशी नदीको बहाव सोमबार बिहान ४ लाख ६२ हजार क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ।
उता नारायणी नदीमा पनि पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ। ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको ३६ वटै ढोका खोलिएको हो।
नारायणीमा पानीको बहाव २ लाख ७३ हजार ६ सय क्युसेक प्रति सेकेन्ड मापन गरिएको छ।
नारायणी नदीको जल सतह सतर्कता तहमाथि रहेको छ। जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको हो।
आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा ७.७ मिटर र नारायणी पुल नारायणगढमा ११.१५ मिटर छ।
देवघाटमा ७.३ मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत असार २३ गते पानीको सतह ७.४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको जनाइएको छ।
नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ।