
जनकपुरमा श्रीमती र छोरीलाई एसिड छ्याप्ने श्रीमान तथा एसिड बेच्ने व्यापारीमाथि मुद्दा दायर भएको छ। श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साह र एसिड बेच्ने जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहमाथि जिल्ला अदालत धनुषामा बुधबार मुद्दा दायर गरिएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले सञ्जिव र एसिड बेच्ने साहलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने अभियोग जिल्ला अदातलतमा दर्ता गराएको न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए। उनका अनुसार एसिड प्रहरी गरी अंगभग गरेको कसुरमा ५ वर्ष, शरीर कुरुप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी १५ वर्ष ६ महिना कैदसहितको अभियोग दर्ता गरिएको छ।
गएको कार्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएकी २१ वर्षीया आरती साह र छोरी रिया साहलाई धनुषाको सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साहले एसिड छ्यापेका थिए। श्रीमान श्रीमतीबीचको विवादको कारण केहि समयदेखि आरती माइतमा बसेर तरकारी व्यवसाय गर्दै आएकी छिन्।
एसिड आक्रमण गरे लगतै प्रहरीले संजिवलाई पक्राउ गरेको थियो। संजिवलाई एसिड बेच्ने जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहलाई घटनाको भोलिपल्ट प्रहरीले ५८ बोतल एसिडसहित पक्राउ गरेको थियो।
