नेपालमा कोरोना संक्रमण समुदायमा फैलिएको हो कि होइन? पुष्टि गर्न यसरी हुँदैछ अध्ययन

0
115

नेपालमा कोरोना संक्रमण पुष्टि भएको संख्या ७० हजार ६ सय भन्दा बढी पुगेको छ। संक्रमितको संख्या उलेख्य हुँदा पनि नेपाल संक्रमणको कुन चरणमा छ भन्नेबारे एकमत पाइँदैन।

सरकारी अधिकारीहरु नेपाल क्लस्टर अफ केस (झुण्डमा देखिने)को चरणमा रहेको बताउँछन् भने जनस्वास्थ्यका विज्ञहरुले राजधानीलगायत केही स्थानमा समुदायस्तरमै फैलिसकेको दाबी गर्दै आएका छन्।

यी दाबीलाई पुष्टि गर्ने तथ्यांकसहितको अध्ययन भने हालसम्म कसैले गरेका छैनन्। यसै विषयलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायबाट रगतको नमूना संकलन गरी एन्टिबडी परीक्षण गर्ने भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सहयोगमा दशैंअघिसम्म समुदायमा कोरोना भाइरसको अवस्था पत्ता लगाउन यो परीक्षण गरिसक्ने महाशाखाको लक्ष्य छ।

यस परीक्षणमा समुदायका व्यक्तिहरुको रगतको नमूना लिई त्यसलाई प्रयोगशालामा जाँचिन्छ। प्रयोगशालामा जाँचिएका नमूनामा भाइरससँग लड्ने क्षमता विकास भए–नभएको भनि हेरिने अध्ययनलाई ‘एन्टिबडी टेस्ट’ भनिने निर्देशक तथा भाइरोलोजिस्ट डा.बासुदेव पाण्डेले बताए।

‘एन्टिबडी परीक्षणले उक्त समुदायमा संक्रमणको स्तर कस्तो छ भन्ने देखाउँछ। बढी व्यक्तिमा एन्टिबडी देखियो भने त्यहाँ समुदायस्तरमा फैलिएको भन्ने देखाउँछ’, पाण्डेले नेपालखबरसँग भने, ‘सबैको नतिजा आइसकेपछि हामी तथ्यांकसहित नेपालमा कुन स्तरमा संक्रमण फैलिएको छ भन्ने बताउन सक्छौं।’

कोरोना संक्रमणको स्थिति पत्ता लगाउने सबैभन्दा महत्वपूर्ण विधि पीसीआर परीक्षण हो। तर, यो महँगो भएकाले ठूलो समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने पाण्डेले बताए। एन्डिबडी बढी देखिएका स्थानमा संक्रमण पनि बढी रहेको पुष्टि हुने भएकाले त्यहाँ व्यापक परीक्षणको आवश्यकता हुने उनले बताए।

महाशाखाले देशभर ३ हजार १५० जनाको एन्टिबडी परीक्षण गर्ने तयारी गरेको छ। एक प्रदेशबाट ४५० जनाको रगतको नमूना लिनेछ। एक प्रदेशका ३० वडा र प्रत्येक वडाका १५ घरका एक–एक जनाको नमूना संकलन गर्ने तयारी भएको महाशाखामा यस अध्ययनको संयोजन गरिरहेका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताए।

भौगोलिक अवस्था हेरेर एक प्रदेशमा नमूना संकलनका लागि चारदेखि ६ टोलीसम्म खटिनेछन्। जसमा एकजना काठमाडौंबाट तालिम प्राप्त व्यक्ति, वडाका एकजना ल्याब एसिस्टेन्ट, टेक्निसियन, पालिकाको स्वास्थ्य संयोजक र स्वास्थ्य स्वयंसेविकाहरु रहनेछन्।

नमूना संकलनका लागि महाशाखाले १५ दिनको समय छुट्टाएको छ। संकलित नमूनाको काठमाडौं ल्याएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ।

अध्ययनका लागि महाशाखाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट इथिकल अप्रुभल लिइसकेको छ। योसँगै संकलिन नमूनाबाट रुबेला, डेंगुविरुद्धको एन्टिबडी पनि हेर्ने महाशाखाको तयारी छ।

तर, दशैंअघि अध्ययन सक्ने भनिएपनि डब्लूएचओले हालसम्म जनशक्तिलगायत प्राविधिक सहयोग नगरेका कारण अध्ययन अघि बढ्न सकेको छैन। महाशाखाका निर्देशक डा. पाण्डेले डब्लूएचओले जनशक्तिलगायत सहयोग उपलब्ध गराएको एक हप्तामा फिल्डमा कर्मचारीहरु खटिइसक्ने बताए।

‘हामीले हाम्रा तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिसकेका छौं। डब्लूएचओले जनशक्ति उपलब्ध गराउन बित्तिकै उनीहरुलाई तालिम दिएर फिल्डमा खटाउनेछौं,’ पाण्डेले भने।

फिल्डमा खटिने तथा नमूना संकलनका लागि ठूलो जनशक्ति आवश्यक पर्छ। जनशक्ति व्यवस्थापनका लागि डब्लूएचओले भेन्डर, एनजीओ (जनशक्ति उपलब्ध गराउने संस्था) खोज्ने काम गरिरहेको र त्यो प्रक्रिया अन्तिम चरणमा रहेको आफूलाई जानकारी आएको उनले बताए।

डब्लूएचओले उपलब्ध गराएका ३० देखि ४० जनालाई महाशाखाले तालिम दिएर फिल्डमा खटाउने छ। त्यसबाहेक २ जना स्थानीय पालिकाका स्वास्थ्यकर्मीले साथ दिनेछन्। यी सबैको खर्च डब्लूएचओले ब्यहोर्ने तय भएको छ।

LEAVE A REPLY